सरकार, मलाई किन जबर्जस्ती विमानस्थलमा रोकियो?
एसियन रिसोर्स फाउन्डेसनले शनिबारदेखि थाइल्यान्डमा आयोजना गर्न लागेको ‘द्वन्द्व क्षेत्रमा युवा–सामाजिक सहभागिताद्वारा उपचार र शान्ति स्थापना’ विषयक पाँच दिने कार्यशालामा सहभागी हुन प्राप्त निमन्त्रणाअनुसार म शुक्रबार त्यसतर्फ जाँदै थिए। नेपाल वायु सेवा निगमको जहाजमार्फत मेरो उडान ९ बजेर ५० मिनेटमा थियो।
म साढे सात बजे नै त्रिभुवन विमानस्थलमा पुगिसकेको थिएँ। बोर्डिङ पास लिएर अध्यागमन कक्षमा पुगे। विभागका कर्मचारीले मेरो कागतपत्र हेरेर पासपोर्टमा छाप हान्दिए। तर, दुई मिटर अगाडि पनि बढेको थिइन्, अध्यागमनका तिनै कर्मचारीले बोलाएर मेरो पासपोर्ट र कागजपत्र मागे। मलाई केही बेर पर्खन भने। मेरो फ्लाइटको टाइम भइसकेको थियो। म तीनछक्क परेँ। केही बेरपछि तिनै कर्मचारीलाई सोध्दा ‘आज बिहानमात्र मेरो नाम ब्ल्याक लिस्टमा राखिएको’ बताए। म झन् तीनछक्क परेँ।
मैले सोधेँ- मैले के अपराध गरेको छ र मेरो नाम एक्कासी ब्ल्याक लिस्टमा राखियो? ती कर्मचारीले माथिको आदेशले रोकिएको बताए।
म उड्ने जहाज उड्यो। तर मलाई किन रोकियो भन्ने स्पष्ट जवाफ कसैले दिएनन्। मैले रोकिनुको लिखित कारणसहितको पत्र नदिए बाहिर ननिस्कने बताएँ। करिब एक घन्टापछि मलाई ‘जुन कार्यक्रममा जान लागेको हो त्यस विषयसँग सम्बन्ध नेपाल सरकारको कुनै पनि निकायको सिफारिस तथा स्वीकृति नदेखिएकाले’ प्रस्थान अनुमति नदिएको पत्र थमाइयो। म लाचार भएँ, मलाई लाचार बनाइयो। म त्यहाँबाट बाहिर निस्किएँ।

म सरकारसँग प्रश्न गर्न चाहन्छु। मसँग आयोजकले पठाएको निमन्त्रणा पत्र थियो, पासपोर्ट थियो,कुनै अपराध गरेको छैन तर मलाई किन अध्यागमन विभागले विदेश जानबाट रोक्यो? राज्यले मलाई दिएको पासपोर्ट विदेश जानकै लागि होइन? कुनै संस्थाले मलाई बोलायो भने म किन जान नपाउने ? म सरकारी कर्मचारी हो र, कुनै सरकारी निकायको अनुमति र स्वीकृति लिनुपर्ने? के अब हरेर विदेश भ्रमणमा नेपाली नागरिकले पासपोर्टबाहेक सरकारको अलग्गै अनुमति पनि लिनुपर्छ?
म पूर्व माओवादी छापामार हुँ। २०६० सालमा बाल सेनाका रुपमा म माओवादीमा प्रवेश गरेको थिएँ। २०६३ पछि म तीन वर्ष शिविरमा बसेँ। अनमिनको प्रमाणीकरणमा म अयोग्य भएँ। त्यसयता युद्धमा बाल सेना प्रयोग गर्नु हुन्न भन्दै म पैरवी गर्दै आएको छु। सायद मैले उठाउँदै आएका मागप्रति विशेषगरी तत्कालीन नेकपा माओवादीका नेताहरुलाई अप्ठेरो लागेका हुन सक्छ। यसपटक मैले यही मुद्दा अन्तर्राष्टिय फोरममा उठाउने छु भन्ने डर सायद उहाँहरुलाई भएको हुन सक्छ। तर एउटा राज्य एउटा व्यक्तिविरुद्ध किन लाग्दै छ, म अचम्मित भएको छु। हामीले बगाएको रगत-पसिना आज यही भोग्नका लागि थियो र सरकार ?
सरकार जवाफ देऊ, मलाई किन थाइल्यान्ड जानबाट अपमानजनक ढंगले रोकियो?
Comments
Post a Comment